
काठमाडौं : सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले एक डीआईजी, पत्रकार र एसपीसँग सम्बन्धित विवादित भिडियो सार्वजनिक भएपछि त्यसप्रति गम्भीर चासो व्यक्त गरेको छ।
मंगलबार प्रधान कार्यालयले देशभरका आफ्ना इकाईहरूलाई परिपत्र जारी गर्दै सामाजिक सञ्जाल प्रयोगमा अनुशासन कायम गर्न निर्देशन दिएको हो।
परिपत्रमा संगठनको पहिचान खुल्ने गरी सामाजिक सञ्जालमा असान्दर्भिक टिप्पणी तथा सामग्री पोस्ट गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। त्यस्ता गतिविधिले संगठनको छवि, गोपनीयता र आन्तरिक सुरक्षामा समेत असर पार्ने भएकाले तत्काल रोक्न निर्देशन दिइएको छ।
प्रधान कार्यालयले सबै कार्यालय प्रमुखलाई मातहतका कर्मचारीलाई सचेत गराउन र यस्ता गतिविधि नियन्त्रण गर्न विशेष चासो दिन आग्रह गरेको छ। सशस्त्र प्रहरी बल अनुशासन र ‘चेन अफ कमाण्ड’ मा आधारित संगठन भएकाले सबै कर्मचारीले नीति-निर्देशनअनुसार व्यावसायिक रूपमा काम गर्नुपर्नेमा जोड दिइएको छ।
साथै, सामाजिक सञ्जालको दुरुपयोगका घटनाहरू बढ्दै गएको उल्लेख गर्दै संगठनको नियमविपरीत गतिविधिमा संलग्न कर्मचारीलाई सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ। सशस्त्रले यस अघि पनि पटकपटक यस्ता परिपत्र जारी गर्दै आएको जनाएको छ।








Discussion about this post