वीरगंज , १५ बैशाख –
वीरगंज महानगरअन्तर्गत हरपतगंज क्षेत्रमा सञ्चालित सघन शहरी तथा भवन निर्माण आयोजनाको सडक निर्माण कार्य १७ करोड रुपैयाँ भुक्तानी विवाद, स्थानीय अवरोध र अदालतका अन्तरिम आदेशका कारण लामो समयदेखि अलपत्र परेको छ।
सघन शहरी तथा भवन निर्माण आयोजना, पर्साका अनुसार स्वच्छन्द–पप्पु–युनाइटेड बिल्डर्स संयुक्त उपक्रमले पेश गरेको करिब १७ करोड रुपैयाँ बराबरको बिल आर्थिक वर्ष २०८० असार २२ गतेदेखि भुक्तानी हुन नसकेको हो। बजेट अभाव देखाउँदै रकम रोकिएको जनाइएको छ।
निर्माण कम्पनीले सार्वजनिक खरिद नियमावलीअनुसार ३० दिनभित्र भुक्तानी हुनुपर्ने भए पनि लामो समयसम्म रकम नपाउँदा काम प्रभावित भएको जनाएको छ।
२०७५ सालमा १७ वटा सडक निर्माणको जिम्मा पाएको संयुक्त उपक्रमले हालसम्म १२ वटा सडक मात्र सम्पन्न गरेको छ। बाँकी सडक निर्माण साइट क्लियरेन्सको अभाव, स्थानीय अवरोध तथा कानुनी जटिलताका कारण रोकिएको बताइएको छ।
सडक क्षेत्रमा घर–टहरा नहटाइएको, ५३६ वटा विद्युत पोल व्यवस्थापन नभएको तथा केही स्थानमा स्थानीयवासीले अदालतबाट अन्तरिम आदेश लिएकाले निर्माण कार्य अघि बढ्न नसकेको निर्माण पक्षको दाबी छ।
करिब ७५ प्रतिशत काम पूरा भए पनि बाँकी करिब ३ किलोमिटर सडक अझै अलपत्र अवस्थामा रहेको छ। पटक–पटक जानकारी गराउँदा पनि समस्या समाधान नभएको निर्माण कम्पनीले जनाएको छ।
यता, आयोजना कार्यालयले साइट उपलब्धता, स्वीकृत डिजाइन कार्यान्वयनमा समस्या र अदालतका आदेशका कारण निर्माण कार्य अघि बढाउन कठिन भएको स्पष्ट पारेको छ।
भुक्तानी विवाद, अदालतका निर्णय र स्थानीय अवरोधका कारण हरपतगंज क्षेत्रको सडक निर्माण लामो समयदेखि रोकिँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ।








Discussion about this post