
काठमाडौं — मधेस प्रदेश प्रहरीभित्र लामो समयदेखि विवादमा मुछिँदै आएका दुई प्रहरीलाई अन्ततः प्रहरी प्रधान कार्यालय तानिएको छ। ‘घुमुवा’ शैलीमा जिल्लाजिल्ला प्रभाव जमाउँदै आएका वरिष्ठ सई गोपाल थापा मगर र सई जयलाल यादवलाई केन्द्र फिर्ता बोलाइएको हो।
स्रोतका अनुसार, यी दुईमाथि जिल्लामा ‘लाइन’ सञ्चालन, आर्थिक असुली र प्रभावका भरमा आदेश चलाउने गम्भीर आरोप लाग्दै आएको थियो। प्रहरी वृत्तमै ‘घुमुवा डन’को उपनाम पाएका उनीहरूबारे गुनासो बढेपछि केन्द्रले हस्तक्षेप गरेको बुझिएको छ।
चर्चा यतिमै सीमित छैन। यी दुवै सईलाई मधेस प्रदेशमा खटाउने निर्णय स्वयं प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाकै रहेको दाबी हुँदै आएको छ। उनीहरू थपलियाका विश्वासपात्रका रूपमा काम गर्दै आएको आरोप पनि प्रहरीभित्रै गुञ्जिरहेको छ।
उता, डिआइजी थपलियाको नाम जोडिएको आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि विवाद झन् चर्किएको छ। अडियोमा व्यापारीमार्फत रकम संकलन गरी प्रहरी नेतृत्वसँग सम्बन्धित व्यक्तिलाई बुझाइएको दाबी गरिएको छ, जसले थपलियामाथि गम्भीर नैतिक प्रश्न खडा गरेको छ।
स्रोतहरूका अनुसार, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले घटनालाई गम्भीर रूपमा लिँदै थपलियालाई समेत केन्द्र तान्ने तयारी गरिरहेको चर्चा छ। यद्यपि, यसबारे आधिकारिक पुष्टि भने अझै भएको छैन।
मधेस प्रदेश प्रहरीभित्रको ‘लाइन’ प्रणाली, शक्ति केन्द्रित संरचना र सम्भावित अनियमिततामाथि यो घटनाले गम्भीर प्रश्न उठाएको छ। अब प्रश्न स्पष्ट छ—के छानबिन तल्लो तहमा सीमित रहन्छ, कि माथिल्लो तहसम्म पुग्छ?








Discussion about this post