प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रतिनिधिसभा बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक राष्ट्रियसभा कक्षमा बस्नेछ।
राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसद्को अधिवेशन आह्वान गर्नुभएको हो। संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा मतदाता नामावली, प्रतिनिधिसभा सदस्य निर्वाचन र नेपाल विशेष सेवासम्बन्धी तीन अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। साथै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाइने कार्यक्रम पनि रहेको छ।
पहिलो बैठकबाट प्रतिनिधिसभाको नियमावली नबन्दासम्म हालकै नियमावली अनुसार बैठक सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची पनि रहेको छ।
यसअघि बसेको सर्वदलीय बैठकले सभामुख निर्वाचन आउँदो आइतबार गर्ने निर्णय गरेको छ। संविधानअनुसार पहिलो अधिवेशन सुरु भएको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ। सभामुख र उपसभामुखमध्ये एक महिला र फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ।








Discussion about this post