नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा देशभर आन्दोलन गर्ने निर्णय गरेको छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले ओलीलाई तत्काल रिहा गर्न माग गर्दै कानुनी र राजनीतिक दुवै रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो। बैठकपछि पार्टी सचिव महेश बस्नेतले आज देशभर जिल्ला सदरमुकाममा जनसंगठनमार्फत विरोध प्रदर्शन गर्ने र भोलि जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय भएको बताएका छन्।
एमालेले ओली पक्राउको विषयलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै अन्य राजनीतिक दलसँग पनि संवाद र सहकार्य गर्ने जनाएको छ। यसैबीच बिहान काठमाडौँको चाबहिल क्षेत्रमा नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्।
पूर्वप्रधानमन्त्री ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले पक्राउ गरेको छ। उता नेपाली कांग्रेसका नेताहरू लेखक पक्राउको विषयमा आन्तरिक छलफलमा जुटेका छन् र छिट्टै आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन्।








Discussion about this post