
बारा, विश्रामपुर, कार्तिक २१ – बरैनियास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आजदेखि विद्यार्थीहरूको लागि खाजा खुवाउने कार्यक्रम सुरु गरिएको छ।
शुक्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष जुबेर भाई, उप–प्रमुख प्रियंका देवी साह, वडा अध्यक्ष मनोज कुमार यादव, वडा सदस्य मन्जुर आलम, समाजसेवी लालबाबु साह तेली तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष जुबेर भाईले खाजा कार्यक्रमले विद्यार्थीहरूको पोषण, स्वास्थ्य र नियमित विद्यालय उपस्थितिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यालयमा बालबालिकाको शैक्षिक स्तर उकास्न थप सुधारका कार्यक्रमहरू सञ्चालन गरिने जानकारी पनि दिनुभयो।
उप–प्रमुख प्रियंका देवी साहले बालबालिकाको सन्तुलित आहार र शैक्षिक प्रगतिमा गाउँपालिकाले निरन्तर ध्यान दिने बताउँदै शिक्षक, अभिभावक र स्थानीयवासीको संयुक्त प्रयासले मात्र शिक्षामा गुणस्तर वृद्धि सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
वडा अध्यक्ष मनोज कुमार यादवले शिक्षक तथा अभिभावकलाई विद्यार्थीहरूको नियमित उपस्थितिमा जोड दिन आग्रह गर्दै खाजा कार्यक्रम गाउँपालिकाको सहयोगमा नियमित रूपमा सञ्चालन हुने जानकारी दिनुभयो।
समाजसेवी लालबाबु साह तेली, वडा सदस्य मन्जुर आलम लगायतका अतिथिहरूले पनि विद्यार्थीहरूलाई अध्ययनमा प्रेरित रहन र विद्यालयलाई सफा तथा अनुशासित बनाउन योगदान दिन आग्रह गर्नुभयो।
स्थानीय बासिन्दाहरूले विद्यालयमा सुरु गरिएको खाजा कार्यक्रमलाई स्वागत गर्दै यसले गाउँका बालबालिकाको शैक्षिक भविष्य उज्यालो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले सहभागी सबै अतिथिहरूलाई धन्यवाद ज्ञापन गरेको थियो।






Discussion about this post