स्वतन्त्र पत्रकार संघ नेपालको अध्यक्षमा कृष्णप्रसाद बास्तोला पुनः सर्वसम्मत चयन भएका छन्। नवलपुरको गैंडाकोटमा सम्पन्न संघको १४औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले उनलाई आगामी कार्यकालका लागि पुनः नेतृत्व सुम्पिएको हो।
अधिवेशनबाट उपाध्यक्षमा तिर्सना लक्ष्मी गुरुङ, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा कल्याण पन्त र कोषाध्यक्षमा नमस्कार शाह चयन भएका छन्। सदस्यहरूमा युक्तप्रसाद सुवेदी, कृष्णबहादुर रायमाझी, योगेश खपाङ्गी, प्रेमध्वज लामा, सुरेश प्रसाद सैजु र सागर कार्की निर्वाचित भएका छन्।
उद्घाटन सत्रमा वरिष्ठ पत्रकार उदय बहादुर अमात्य लाई २५ हजार रुपैयाँ राशिको ‘सामाजिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो। उनले पत्रकारिता पूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिँदै पत्रकार स्वयं उदाहरण बन्नुपर्ने बताए।
नवनिर्वाचित अध्यक्ष बास्तोलाले पत्रकारितामा दलीय प्रभावको विरोधबाट संघको स्थापना भएको स्मरण गराउँदै स्वतन्त्रता र निष्पक्षता कायम राख्नु नै पत्रकारको मुख्य दायित्व भएको बताए। उनले बदलिँदो समयसँगै पत्रकारहरू प्रविधिमैत्री र डिजिटल सीपमा सक्षम हुनुपर्नेमा पनि जोड दिए।
कार्यक्रम बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष गुरुङले राखेकी थिइन्। कार्यक्रम सञ्चालन निवर्तमान महासचिव महेश जंग कुँवरले र सहजीकरण महासचिव श्रेष्ठले गरेका थिए।








Discussion about this post