तीन जना पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पत्तिसम्बन्धी अनुसन्धान औपचारिक रूपमा सुरु भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूको चल-अचल सम्पत्ति, आम्दानी र वित्तीय गतिविधिको विस्तृत छानबिन गरिरहेको छ। गृह मन्त्रालयका उच्च अधिकारीका अनुसार, यही अनुसन्धानकै क्रममा आइतबार पूर्वमन्त्री दीपक खड्का लाई नियन्त्रणमा लिइएको हो।
खड्कामाथिको अनुसन्धानका लागि पनि सीआईबीले अदालतबाट म्याद लिने तयारी गरिरहेको छ। भदौ २४ गते भएको प्रदर्शनका क्रममा आगजनी भएपछि पूर्वप्रधानमन्त्रीहरूको निवासबाट जलेको अवस्थामा भेटिएका नगद रकम र विदेशी मुद्रा अनुसन्धानको केन्द्रविन्दु बनेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले देउवाको निवास परिसरमा नयाँ संरचना निर्माण रोक्न आदेश दिएको छ। प्रहरीले घटनास्थलमा काम गरिरहेका मजदुरहरू हटाएर क्षेत्र नियन्त्रणमा राखेको छ भने जलेको अवस्थामा फेला परेको रकम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुरक्षित राखिसकेको छ।








Discussion about this post