बालेन्द्र शाह आज शुक्रबार शुभ साइतमै प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शाहले दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ ग्रहण गर्ने र दिउँसो २ बजेर १५ मिनेटमा सिंहदरबार पुगेर औपचारिक रूपमा कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको छ।
शपथ ग्रहण समारोहमा वैदिक तथा बौद्ध परम्पराअनुसार धार्मिक कार्यक्रमसमेत आयोजना गरिनेछ। ७ वटा शङ्खनाथ, १०८ जना वटुकबाट स्वस्ति शान्ति वाचन तथा १०८ जना बौद्ध भिक्षुबाट शुभ मङ्गलपाठ गर्ने कार्यक्रम राखिएको शाहको सचिवालयले जनाएको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुईतिहाइ सिट जितेपछि शाहको नेतृत्वमा एकल सरकार गठन हुन लागेको हो। चुनावमा देखिएको जनलहर र शाहको लोकप्रियताले रास्वपालाई ठूलो सफलता दिलाएको विश्लेषण गरिएको छ।
काठमाडौं महानगरपालिकाको मेयरबाट राष्ट्रिय राजनीतिमा आएका शाहले यस पटक झापा–५ बाट चुनाव लडेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरेका थिए। शाह नेतृत्वको नयाँ सरकारले सुशासन, सेवा प्रवाह सुधार, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधारलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।








Discussion about this post