लेखक : उज्ज्वल शम्शेर जा. बा. रा.
नेपाली राजनीतिमा Gen-Z आन्दोलनपछि नयाँ शक्ति, नयाँ अनुहार र नयाँ भिजन लिएर धेरै पात्रहरू उदाइरहेका छन्। भनाइ छ— “ठूलो धमाकाको सुरुवात सानो चिन्गारीबाट हुन्छ।”
यसको ज्वलन्त उदाहरणका रूपमा बालेन साह, रवि लामिछाने र Harka Sampang लाई लिन सकिन्छ।
एक समयका नेता मदन भण्डारीले भनेका थिए—
“राजा रहे वा नरहे, सामन्तवाद, दलाल पुँजीवाद, नोकरशाही र साम्राज्यवादको शोषण अन्त्य भएन भने जनताको अवस्थामा कुनै परिवर्तन आउँदैन।”
ठ्याक्कै यही भयो। यही असन्तोष चिन्गारी बन्यो, चिन्गारी आगो बन्यो र अन्ततः विस्फोट भएर Gen-Z आन्दोलनको रूप लियो।
अब प्रश्न उठ्छ—
के हाम्रो अवस्थामा साँच्चै फरक आउँछ?
यो चिन्ताले आज सम्पूर्ण नेपाली जनतालाई सताइरहेको छ। नेपाली जनताले धेरै परिवर्तन देखिसके—
राणा शासन, पञ्चायत शासन, प्रजातन्त्र, गणतन्त्र।
तर यी सबै परिवर्तनबीच करिब एक दशक लामो माओवादी जनयुद्धले देशले ठूलो मूल्य चुकाउनुपर्यो। करिब १७ हजार नागरिकले ज्यान गुमाए।
त्यतिबेला पनि माओवादी पार्टी ‘नयाँ शक्ति’कै रूपमा उदाएको थियो। तर समय बित्दै जाँदा जनताको अनुहारमा फेरि निराशा नै छायो।
फलस्वरूप लाखौँ युवा विदेशिन बाध्य भए, अर्थतन्त्र ध्वस्त भयो र देश करिब ५० वर्ष पछाडि धकेलियो।
“रात गएपछि बिहान पक्कै आउँछ” भन्ने आशामा आज पनि हामी नेपाली बाँचेका छौँ।
सायद अब हाम्रो अवस्थामा परिवर्तन आउँछ भन्ने आशा अझै जीवित छ।
आज नेपाली जनताको मस्तिष्कमा अझै पनि फागुन २१ नै गुञ्जिरहेको छ—
चुनाव हुन्छ कि हुँदैन?
फेरि उही पुराना दलका पुरानै नेताहरू आउने हुन् कि देशले नयाँ शक्ति, नयाँ अनुहार र नयाँ गति पाउने हो?
आन्दोलनले खेत जोतेको मात्रै हो। मौसम अनुकूल भए चुनावी बीउ छरिन्छ र कोपिला पलाउँछ। तर बीच–बीचमा पुराना शक्ति विदेशी स्वार्थसहित भेडा-बाख्राजस्तै पस्न सक्छन् र सबै मेहनत एकै गाँसमा स्वाहा पार्न सक्छन्।
अब अर्को गम्भीर प्रश्न उठ्छ—
के नयाँ शक्तिले मात्र देश बनाउन सक्छ?
सायद यो प्रश्न आज प्रत्येक नेपालीको मन-मस्तिष्कमा घुमिरहेको छ।
यसको केही उत्तर हामीले Gen-Z आन्दोलनपछिको मन्त्रिमण्डल गठनबाट पनि पाइसकेका छौँ।
विश्व इतिहास नियालेर हेर्दा प्रायः घरको ‘मूली’ घरकै जेठा, अनुभवी व्यक्ति नै भएको पाइन्छ।
जहाँ-जहिले पनि केवल जोश र जाँगर मात्रै पर्याप्त हुँदैन।
देशका महत्वपूर्ण नीति, कूटनीतिक निर्णयमा अनुभव र धैर्य अत्यन्त आवश्यक हुन्छ।
एक पटक राष्ट्रको तर्फबाट बोलेपछि त्यो फेसबुकको स्टाटस डिलिट गरेजस्तो सजिलो हुँदैन। त्यसको परिणाम सम्पूर्ण देशवासीले भोग्नुपर्छ।
“नेपाल दुई ढुंगाबीचको तरुल हो” भन्ने कुरा हामीले बाल्यकालदेखि पढ्दै आएका छौँ।
त्यसैले यहाँ अनुभवी नेताहरूको आवश्यकता पनि उत्तिकै छ।
देश केवल भौतिक विकासले मात्र अघि बढ्दैन; विकाससँगै कूटनीतिक सम्बन्ध पनि सन्तुलित र मजबुत बनाउँदै लैजानुपर्छ। यसको उदाहरण युक्रेनबाट लिन सकिन्छ।
समग्रमा भन्नुपर्दा, देशलाई नयाँ शक्ति र पुरानो अनुभव—दुवै उत्तिकै आवश्यक छन्।
तर मुख्य कुरा के हो भने,
पुरानो अनुभवलाई नयाँ विचार र ऊर्जासँग सन्तुलनमा चलाउन सक्नुपर्छ।
त्यही सन्तुलन नै आजको नेपालको सबैभन्दा ठूलो आवश्यकता हो।








Discussion about this post