जिल्ला प्रहरी कार्यालय रोल्पाले चैत महिनाको सुरक्षा अवस्था सार्वजनिक गर्दै मासिक पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा एक महिनामा जिल्लाभर १९ वटा मुद्दा दर्ता भएको र ट्राफिक कारवाहीबाट ९७ हजार रुपैयाँ राजश्व संकलन भएको जानकारी दिइएको छ।
प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार सवारी ज्यान, आत्महत्या, जबरजस्ती करणी लगायतका विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन्। तीमध्ये ४ जना प्रतिवादी पक्राउ परिसकेका छन् भने केही अझै फरार रहेका छन्।
ट्राफिकतर्फ ९३ सवारी साधनलाई कारवाही गरिएको छ। होलेरी पोष्टले सबैभन्दा बढी राजश्व संकलन गरेको प्रहरीले जनाएको छ।
घरेलु हिंसाका ६ वटा उजुरी दर्ता भए पनि सबै उजुरी आपसी सहमतिमा टुंग्याइएको छ। साथै, ट्राफिक सचेतना तथा सामाजिक विकृति न्यूनीकरणका लागि ८० भन्दा बढी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले प्रहरीको पारदर्शी कार्यशैलीको प्रशंसा गर्दै अपराध नियन्त्रणमा अझ प्रभावकारी काम गर्न सुझाव दिएका छन्।








Discussion about this post