
वीरगञ्ज–पर्साको सीमावर्ती क्षेत्रमा प्रहरीकै मिलेमतोमा तस्करी मौलाएको गम्भीर आरोप सार्वजनिक भएको छ। वीरगञ्जको छप्कैया क्षेत्रदेखि अलौ नाकासम्म रातभरि अवैध ओसारपसार भइरहेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।
स्थानीय स्रोतका अनुसार असई नेत्र रानाका घुमुवा “चौधरी” र अलौ नाकामा कार्यरत बरिष्ठ सई मनबहादुर जिम्बाका घुमुवा हवल्दार नरेश गुप्ताको संरक्षणमा दैनिक ४० देखि ५० पोका सामान अवैध रूपमा नेपाल भित्र्याइने गरिएको आरोप छ। खोलाको किनार र नरकटको गोप्य बाटो प्रयोग गरी कपडा, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्सलगायतका सामान निर्बाध रूपमा भित्रिने गरेको स्थानीयको दाबी छ।
स्थानीयका अनुसार रातभरि तस्करी भइरहँदा नियन्त्रण गर्ने निकाय भने “हेरेको हेर्यै” बनेको छ। दैनिक लाखौं रुपैयाँ बराबरको सामान भित्रिँदा पनि कारबाही नहुनुले प्रहरीकै सेटिङ रहेको आशंका बलियो बनेको छ।
यता हवल्दार नरेश गुप्तामाथि आफूलाई “सिंघम प्रहरी” भन्दै सर्वसाधारण र व्यवसायीलाई धम्क्याउने आरोप लागेको छ। “मेरो पहुँच हेडक्वाटरसम्म छ, एसपी–डीएसपीले पनि केही गर्न सक्दैनन्” भन्दै धाक लगाउने, होटल तथा पसलबाट पैसा नतिरी सामान लैजाने र मासिक असुली गर्ने गरेको व्यापारीहरूको गुनासो छ।
त्यसैगरी आईसीपी क्षेत्र वरिपरि देहव्यापारसमेत मौलाएको स्थानीयको आरोप छ। होटल तथा मदिरा पसलमा खुल्लमखुल्ला अवैध गतिविधि भइरहँदा प्रहरी मौन बसेको भन्दै स्थानीयले प्रश्न उठाएका छन्। भारतीय चालक तथा सहचालकलाई महिलामार्फत फसाएर लुटपाटसम्म हुने गरेको आरोपसमेत सार्वजनिक भएको छ।
स्थानीयवासीका अनुसार “महिनावारी रकम” कै लोभमा केही प्रहरी कर्मचारी अवैध गतिविधिमाथि आँखा चिम्लिरहेका छन्। सीमामा तस्करी, असुली र अवैध धन्दाले राज्यलाई ठूलो राजस्व घाटा पुग्नुका साथै सुरक्षा चुनौतीसमेत बढाएको स्थानीयको भनाइ छ।
घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न स्थानीयले माग गरेका छन्। तर हालसम्म प्रहरी प्रशासनबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।








Discussion about this post