वीरगंज, २९ चैत –
वीरगञ्जमा कुखुरा फर्ममा कार्यरत एक कामदारमाथि निर्घात कुटपिट गरेको आरोपमा सञ्चालक पक्राउ परेका छन्।
कामदारमाथि कुटपिट गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१७ निवासी ३० वर्षीय सकिन लाल देवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।
परवानीपुर प्रहरी चौकी नजिक रहेको “साबिर फ्रेस हाउस एण्ड सप्लायर्स” का सञ्चालक देवानले आफ्नै पसलमा कार्यरत २० वर्षीय नुर आलम देवानलाई लठ्ठीले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
भाइरल भिडियोमा सञ्चालकले कामदारमाथि कुखुरा चोरी गरी बिक्री गरेको आरोप लगाउँदै कुटपिट गरेको देखिन्छ। घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ।
मानव अधिकारविरुद्धको कार्य भएको भन्दै सरोकारवालाहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।








Discussion about this post