घरेलु कामदारका रूपमा राखिएकी नाबालिकामाथि हिंसा गरेको आरोपमा लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा पक्राउ परेकी छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँको धुम्बाराहीस्थित निवासबाट गएराति पक्राउ गरेको हो।
२०८१ जेठमा काठमाडौं महानगरपालिका ले शर्माको घरबाट दाङकी एक नाबालिकाको उद्धार गरेको थियो। ती बालिकालाई घरेलु कामदार बनाएर कुटपिट गर्ने, बाहिर निस्किन नदिने तथा बस्न र खानको उचित व्यवस्था नगरेको आरोप उनीमाथि लागेको थियो।
उक्त घटनापछि महानगरपालिकाले बालबालिका सम्बन्धी ऐनअनुसार कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएको थियो। लामो समयसम्म पक्राउ नभएपछि त्यतिबेला काठमाडौं महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाह ले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए।
यसअघि २०८१ माघमा मुद्दा नचल्ने निर्णय भए पनि पछिल्लो अनुसन्धान प्रक्रिया अघि बढाउँदै प्रहरीले शर्मालाई पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Discussion about this post