वीरगंज , चैत ९ –
हरि खेतान बहुमुखी क्याम्पस मा कक्षा १२ को त्रैमासिक परीक्षा अचानक स्थगित गरिएपछि विद्यार्थीहरूले आन्दोलन गरेका छन् भने समस्या समाधानका लागि प्रशासनस्तरमा छलफल सुरु गरिएको छ।
आइतबारदेखि सञ्चालन हुने भनिएको परीक्षा अन्तिम समयमा स्थगित गरिएको सूचना जारी भएपछि परीक्षा दिन पुगेका विद्यार्थी आक्रोशित बनेका थिए। विद्यार्थीहरूले क्याम्पसको मुख्यद्वार अगाडि धर्ना दिँदै परीक्षा नियमित तालिकाअनुसार सञ्चालन गर्नुपर्ने माग गरेका थिए।
आन्दोलनका क्रममा विद्यार्थीहरूले क्याम्पसबाट र्याली निकालेर वीरगंजको घण्टाघर क्षेत्रमा पुगेर केही समय चक्काजाम गरेका थिए। टायर बालेर विरोध प्रदर्शन गर्दा केही समय सडक अवरुद्ध भएको थियो। स्थिति नियन्त्रणका लागि प्रहरीले सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
विद्यार्थीहरूले क्याम्पसभित्रको प्रशासनिक विवादका कारण पटक–पटक पठनपाठन र परीक्षा प्रभावित भएको गुनासो गरेका छन्। उनीहरूले क्याम्पस प्रशासनको जिम्मेवारीहीन निर्णयका कारण विद्यार्थीको भविष्य अन्योलमा परेको बताएका छन्।
यसैबीच समस्याको समाधान खोज्न जिल्ला प्रशासन कार्यालय पर्सा मा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा विद्यार्थी, क्याम्पस प्रशासन तथा विद्यार्थी संगठनका प्रतिनिधिहरूबीच बैठक जारी रहेको जनाइएको छ।








Discussion about this post