वीरगंजस्थित व्राईट स्कुलका विद्यार्थीहरूले खाजाको पैसा बचत गरेर असहाय, निमुखा, गरिब तथा ठेलागाडा चलाउने मजदुरलाई खाना खुवाउने अभियान सञ्चालन गरेका छन्। विद्यार्थीहरूले हरेक महिनाको अन्तिम शनिबार वीरगंजको घण्टाघर चोकमा खाना वितरण गर्दै आएका छन्।
रोहन मिश्र, अकाश रौनियार, आयुष सुडी, आदित्य शर्मा, विशाल यादव, पृती गुप्ता, अन्सु पटेल, खुसी प्रजापति र अनन्या गुप्तालगायतका विद्यार्थीहरूको समूहले यो सामाजिक अभियान सुरु गरेका हुन्। उनीहरूले आफ्नो खाजाको खर्चबाट बचत भएको रकम संकलन गरी असहाय र दैनिक मजदुरी गर्ने व्यक्तिहरूलाई खाना खुवाउँदै आएका छन्।
विद्यार्थीहरूको यस कार्यलाई स्थानीयवासीले प्रशंसा गरेका छन्। सानै उमेरदेखि सामाजिक सेवामा सक्रिय बनेका यी विद्यार्थीहरूले आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिने बताएका छन्।








Discussion about this post