
वीरगन्ज–नेपाल–भारत खुला सीमामा भइरहेको तस्करी, चोरी पैठारी र कथित सुरक्षा निकाय–तस्कर सेटिङको विषयमा समाचार संकलन गरी फर्किरहेका तीन पत्रकारमाथि मध्यराति गरिएको सांघातिक आक्रमणले सीमावर्ती क्षेत्रमा अपराधी समूहको मनोबल कति उच्च छ भन्ने स्पष्ट पारेको छ। गत जेठ २९ गते राति करिब १२ः४० बजे वीरगन्ज महानगरपालिका–१० सिर्सिया जाने बाटोमा पत्रकार सञ्जय कुशवाहा, रवि वर्णवाल र दिशानिर्देश अनलाइनका रुस्तम अली माथि १०–१२ जनाको संगठित समूहले घेराबन्दी गर्दै ज्यानै लिने उद्देश्यले कुटपिट गरेको आरोप छ।

पीडितहरूको भनाइ अनुसार, तस्करीको धन्दा र कथित सुरक्षा निकायसँगको सेटिङबारे समाचार सार्वजनिक गरेकै प्रतिशोधमा पशुपति यादवको नेतृत्वमा आएको समूहले उनीहरूलाई बीच सडकमै रोकेर निर्घात कुटपिट गर्नुका साथै मोबाइल, नगद र सुनको सिक्री समेत लुटेर फरार भएको थियो।
आक्रमणका क्रममा अपराधीहरूले “तिमीहरूले सशस्त्र प्रहरी र हाम्रो सेटिङको भिडियो बनाएर समाचार हालेपछि हामीलाई समस्या भयो” भन्दै खुलेआम धम्की दिएको पीडितहरूको दाबी छ। यस घटनाले पत्रकारमाथिको हमला केवल कुटपिट नभई सत्य उजागर गर्ने आवाजलाई सधैंका लागि चुप गराउने सुनियोजित प्रयास भएको आशंका बलियो बनाएको छ।
घटनापछि नेपाल पत्रकार महासंघ पर्सा शाखा र हिन्दू पत्रकार संघ नेपाल ले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको कडा शब्दमा भर्त्सना गरेका छन्। दुवै संस्थाले यस घटनालाई प्रेस स्वतन्त्रता, लोकतन्त्र र नागरिकको सूचनाको अधिकारमाथिको प्रत्यक्ष हमला भन्दै दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउन माग गरेका छन्।
पत्रकार संगठनहरूले मुख्य योजनाकार पशुपति यादवसहित घटनामा संलग्न सबै व्यक्तिलाई तत्काल नियन्त्रणमा नलिए आन्दोलनका कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।
उता अग्निपथ मिडिया प्रालिका पर्सा जिल्ला संवाददाता सञ्जय कुशवाहाका अनुसार घटनासम्बन्धी सिसिटिभी फुटेज तथा अन्य प्रमाणहरू इलाका प्रहरी कार्यालय बिर्तामा बुझाइसकिएको छ र कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले भने घटनालाई गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूलाई छिट्टै नियन्त्रणमा लिइने बताएका छन्।
प्रश्न अझै उही छ— यदि समाचार लेखेकै कारण पत्रकारहरू सुरक्षित छैनन् भने सीमा क्षेत्रमा मौलाउँदै गएको तस्करी र अपराधको वास्तविकता कसले उजागर गर्ने ?








Discussion about this post