राष्ट्रिय सभा सदस्यका लागि आज देशभर निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि सुरु हुने मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ, जसमध्ये राष्ट्रपतिबाट मनोनित हुने एक सदस्यबाहेक १८ पदमा निर्वाचन हुन लागेको हो।
१८ पदमध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले आज १७ पदका लागि मात्र मतदान हुनेछ। सातै प्रदेशमा मतदान केन्द्र तोकिएका छन् र सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ।
प्रदेशगत रूपमा मतदान केन्द्र कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर (मोरङ), मधेश प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुरधाम–४ (धनुषा), बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा–४ (मकवानपुर) मा निर्धारण गरिएको छ।
यस्तै, गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा (कास्की), लुम्बिनी प्रदेशमा कर्मचारी मिलन केन्द्र घोराही (दाङ), कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर (सुर्खेत) र सुदूरपश्चिम प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी (कैलाली) मा मतदान हुनेछ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ। केही प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न राजीनामा दिएकाले उनीहरूको नाम मतदाता नामावलीबाट हटाइएको आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार १८ पदका लागि कुल ४४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। सत्ता गठबन्धनको भागबन्डाअनुसार नेपाली कांग्रेसले ९ र नेकपा एमालेले ८ सिटमा उम्मेदवारी दिएका छन्। बाँकी एक पदमा कांग्रेस र एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महन्थ ठाकुरलाई समर्थन गरेका छन्। भागबन्डा नमिलेपछि नेकपाले भने एकल उम्मेदवारी दिएको छ।
प्रदेशगत रूपमा कोशीबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २–२, लुम्बिनीबाट ३ तथा कर्णाली र सुदूरपश्चिमबाट २–२ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुनेछन्।








Discussion about this post