नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू जस्तोसुकै लचक हुन पनि तयार रहेको बताएका छन्।
बुधबार आफ्नै निवासमा विशेष महाधिवेशनका सन्दर्भमा देखिएको आन्तरिक विवादबारे महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको टोलीसँग भएको छलफलमा सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
प्रवक्ता महतका अनुसार टिकट वितरणका लागि निर्वाचनमा आफ्नो आधिकारिक हस्ताक्षर बुझाइएको विषय त्याग गर्नुपर्ने माग आएको सन्दर्भमा सभापति देउवाले त्यसलाई छोड्न आफू तयार रहेको बताएका छन्।
उनले अन्य विषयमा ठूलो समस्या नरहेकाले पार्टी फुटबाट जोगाउन महामन्त्रीहरूलाई आग्रह गरेको पनि महतले बताए। साथै सभापति देउवाले संसदीय बोर्ड समेत आपसी सल्लाहमै गठन गर्न प्रस्ताव गरेको जानकारी प्रवक्ता महतले दिए।
चुनाव लड्ने विषयमा उठेका प्रश्नबारे महामन्त्रीद्वयले सभापति देउवाले आफू चुनाव लड्दिनँ भन्ने कुरा नगरेको स्पष्ट पारेको महतले बताए। महामन्त्री थापा र शर्माले छलफलमा उठेका विषय विशेष महाधिवेशनमा राखेर थप छलफल गर्ने बताएका छन्।








Discussion about this post