
१२ कार्तिक काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष तथा नेकपा (एमाले) का पूर्वसांसद देवीप्रसाद भट्टचनलाई आर्थिक हिनामिनाको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले पक्राउ गरेको छ। उनलाई मंगलबार ललितपुरस्थित निवासबाट नियन्त्रणमा लिइएको हो।
स्रोतका अनुसार प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक अनियमितता र सहकारी ठगी प्रकरणमा भट्टचनविरुद्ध यसअघि नै उजुरी परेको थियो। उनीमाथि करिब ९८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप लागेको छ।
प्रभु रेमिटेन्स र प्रभु सहकारीका नाममा संकलित रकम समूहकै नेतृत्व तहबाट हिनामिना गरिएको उजुरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।
भट्टचनमाथि संस्थाको रकम निजी स्वार्थका लागि प्रयोग गरेको आरोप समूहकी पूर्व सञ्चालक कुसुम लामाले दर्ता गरेकी थिइन्। अनुसन्धानका क्रममा प्रभु म्यानेजमेन्टले देशभरका करिब ४०० सहकारीबाट धरौटी रकम संकलन गरेको र रेमिट्यान्स भुक्तानीबापत करिब १ अर्ब रुपैयाँ फिर्ता नगरेको तथ्य बाहिर आएको सिआइबीले जनाएको छ।
अनुसन्धानले देखाएको अनुसार, प्रभु म्यानेजमेन्ट प्रालिले कम्तीमा १६ वटा सहकारी संस्थाको रकम हिनामिना गरेको पाइएको छ। प्रभु ग्रुपका तत्कालीन अध्यक्ष भट्टचनमाथि हाल सोही मुद्दामा कानुनी प्रक्रिया अघि बढाइएको छ।








Discussion about this post