
०५ असोज काठमाडौं । महान चेली किशोरी कार्की
२३ गतेको जेनजी आन्दोलनमा अग्रपंक्तिमा उभिएकी थिइन्। आन्दोलन उग्र बन्दै जाँदा उनका आँखै अगाडि निर्दोष युवाहरू गोलीको शिकार हुँदै सडकमा ढल्न थाले। चारैतिर त्रास, रग*त, र आर्तनादमात्र सुनिन्थ्यो। त्यतिबेला कुनै एम्बुलेन्स आउन नसक्ने अवस्था थियो।
यस्तै कठिन क्षणमा उनले न त आफ्नो सुरक्षाको ख्याल गरिन्, न त भयलाई स्थान दिइन्। छेउमै राखिएको एउटा मोटरसाइकलमा गोली लागेका युवालाई चढाइन् र अस्पतालसम्म पुर्याइन्। त्यतिबेला त्यो मोटरसाइकल कसको हो भन्ने उनले थाहा पाइनन्। बेलुकीपख उनी सचेत नागरिकको जिम्मेवारी निर्वाह गर्दै बाइक बगीखानामा लगेर छोडिन्।
भोलिपल्ट मात्रै थाहा भयो— त्यो बाइक शैलेन्द्र शाहीको रहेछ। तर दुर्भाग्य, आन्दोलनकारीले बगीखानामा आगो लगाउँदा उक्त बाइक खरानीमा परिणत भयो। त्यसपछि मात्रै खुल्यो कि शैलेन्द्र शाही त साधारण पठाउचालक रहेछन्, जसले त्यही बाइकलाई आफ्नो रोजीरोटीको सहारा बनाएका थिए।
उनको पीडा देख्दा किशोरी कार्की चुप लागेर बस्न सकिनन्। उनले आफ्नै पहलमा सहयोग जुटाइन्। साथीभाइ, शुभेच्छुक सबैलाई समेटेर उनले शैलेन्द्र शाहीलाई नयाँ बाइक किनेर दिइन्।
यो घटनाले केवल एउटा बाइक फिर्ता गरेको मात्र होइन, समाजमा सहानुभूति, मानवीयता र जिम्मेवारी कस्तो हुन्छ भन्ने उदाहरण पनि देखाएको छ। किशोरी कार्कीले प्रमाणित गरिदिइन्— आन्दोलन केवल परिवर्तनका लागि होइन, मानवताको रक्षा गर्नका लागि पनि हुन्छ।








Discussion about this post