
रोल्पा । रोल्पा जिल्लाको थवाङ गाउँपालिकाका विभिन्न स्थानमा अवैध रूपमा गरिएको ठूलो परिमाणको अफिम खेती प्रहरीले नष्ट गरेको छ। विशेष सूचनाका आधारमा चैत २४ गते खटिएको सुरक्षाकर्मीको संयुक्त टोलीले दुई छुट्टाछुट्टै स्थानमा गरी कुल ५५ रोपनी जग्गामा लगाइएको अफिम फँडानी गरेको हो।

बिहान १०:०० बजेको समयमा थवाङ गाउँपालिका वडा नं. ४ स्थित गुराँसे, लेक, थर्पु, जालकी, छोरवाङ र लुटाङ क्षेत्रमा प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री र जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्र.ना.उ. विरेन्द्र बीर विश्वकर्माको कमाण्डमा खटिएको टोलीले ४२ रोपनी जग्गाको अफिम नष्ट गरेको छ। उक्त टोलीमा सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर रोल्पाका प्रमुख स.प्र.ना.उ. दिपेन्द्र कुमार पाण्डे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख र इलाका प्रहरी कार्यालय थवाङका प्र.नि. रामचन्द्र वगालेसहित ३५ जना सुरक्षाकर्मीको सहभागिता रहेको थियो।

त्यसैगरी, सोही दिन दिउँसो ३:२० बजे थवाङ–४ कै थर्पु टावर नजिकैका घोरवाङ र लुचाङ क्षेत्रमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्र.ना.नि. प्रथ्वीराज जैसवालको कमाण्डमा खटिएको १९ जनाको टोलीले थप १३ रोपनी जग्गामा लगाइएको अफिम नष्ट गरेको छ। फूल फुलेको अवस्थामा रहेका ती बिरुवाहरूलाई प्रहरीले उखेलेर नष्ट गरेको हो। लुम्बिनी प्रदेशको पहाडी भेगमा लागुऔषध खेती विरुद्ध प्रहरीले सक्रियता बढाउँदै लगेको छ।








Discussion about this post