बिचौलियाको आरोपमा भइरहेको प्रहरी धरपकडको विरोधमा पर्साका लेखापढी व्यवसायीहरूले अनिश्चितकालीन हड्ताल सुरु गरेका छन्। हड्तालका कारण मालपोत, नापी, भूमिसुधार, अदालत र जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही प्रभावित भएका छन्।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा सोमबारदेखि लेखापढी व्यवसायीहरूले सेवा ठप्प पारेका हुन्। गत शुक्रबार पोखरिया मालपोत कार्यालयबाट प्रहरीले बिचौलियाको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएपछि व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका थिए।
एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले कानुनी रूपमा अनुमति लिएर काम गरिरहेका लेखापढी व्यवसायीलाई बिना कारण पक्राउ गरिएको भन्दै यसको विरोधमा आन्दोलन गर्नुपरेको बताए। उनले पक्राउ परेका लेखापढी व्यवसायीहरूलाई तत्काल रिहा गर्न माग समेत गरेका छन्।
पर्सा जिल्लामा भु–सेवा केन्द्र सञ्चालनको अनुमति लिएका १२१ जना र लेखापढी व्यवसायीको इजाजतपत्र लिएका ४ सयभन्दा बढी व्यवसायी रहेका छन्।








Discussion about this post