रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिकामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार भालुबाङ–सुलिचौर सडकखण्डअन्तर्गत सुनिलस्मृति–२ एक्लेपिपलमा आइतबार बिहान करिब ८ बजे दुर्घटना भएको हो। खुङ्ग्रीबाट सुलिचौरतर्फ जाँदै गरेको रा ६ प ५५२७ नम्बरको पल्सर र विपरीत दिशाबाट आउँदै गरेको रा ३ प १०१७ नम्बरको आर–१५ मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा सुनिलस्मृति–२ महेन्द्री निवासी २७ वर्षीय मनोज मरमथानी को मृत्यु भएको छ। गम्भीर घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पुर्याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। १८ वर्षीय साइमन सेन ठकुरी र १८ वर्षीय अर्पण शाह ठकुरी गम्भीर घाइते भएका छन् भने १६ वर्षीय हिमाल चन्द ठकुरी सामान्य घाइते भएका छन्। गम्भीर घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दुवै मोटरसाइकल घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Discussion about this post