
समुन्नत नेपाल पार्टी नेपालका सभापति तथा पूर्व आइजीपी सर्वेन्द्र खनालले जेनजी छानवीन आयोगको प्रतिवेदन तुरुन्त सरकारलाई बुझाएर सार्वजनिक गर्न कडा माग गरेका छन्। नागरिकन्यूजसँग कुरा गर्दै उनले आयोगको म्याद थप गरेर प्रतिवेदन अल्मल्याउन खोजिएको आरोप लगाए।
खनालले जेनजी आन्दोलनको औचित्य स्थापित गर्न र दोषीमाथि कानुनी कारवाही सिफारिस गर्न आयोग गठन गरिएको स्मरण गराउँदै प्रतिवेदन ढिलाइ हुँदा आन्दोलनको उद्देश्य नै कमजोर हुने बताए। उनका अनुसार भदौ २३ र २४ का घटनामा संलग्न व्यक्तिहरू नै अहिले चुनावी मैदानमा रहेका छन्, जसले प्रतिवेदन सार्वजनिक हुन नदिन सरकार र आयोगले मिलेमतो गरेको आशंका व्यक्त गरे।
“जेनजी आन्दोलन केवल निर्वाचन गराउनका लागि मात्र होइन, प्रणाली सुधार र जवाफदेहिताका लागि भएको हो,” उनले भने। दोषीलाई जोगाउने प्रयास भए निर्वाचनको कुनै अर्थ नहुने उनको चेतावनी छ।
खनालले दोषीहरू नै संसद र सरकारमा जाने अवस्था बनेकाले निष्पक्ष कारवाही सम्भव नहुने दाबी गर्दै निर्वाचनभन्दा सर्वपक्षीय सरकार गठन आवश्यक रहेको पनि बताए।
पूर्व आइजीपी खनाल हाल समुन्नत नेपाल पार्टी नेपालका तर्फबाट बारा क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका छन्। उनले आफ्नो इमान्दारिता, अनुशासन र स्पष्ट दृष्टिकोणका कारण जनसमर्थन बढिरहेको दाबी गरेका छन्।








Discussion about this post