प्रधानमन्त्री सुशीला कार्की ले युवालाई अनुशासन र कर्तव्यपालनमा जीवनशैली अपनाएर समाज र राष्ट्रको सेवामा लाग्न आग्रह गरेकी छन्।
नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल (एनसीसी) मध्य तालिम शिक्षालय, नवलपरासी को हात्तिखोरमा सञ्चालित २०औँ ब्याच सिनियर डिभिजन तालिमको अन्तिम दीक्षान्त समारोहमा सम्बोधन गर्दै उनले युवाको सहभागिता र नेतृत्वदायी भूमिकाले उन्नत समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताइन्।
प्रधानमन्त्री कार्कीले भने, “अनुशासनलाई जीवनशैली बनाउनुहोस्, कर्तव्य पालना र मर्यादालाई दैनिक जीवनमा अभ्यास गर्नुहोस्। राष्ट्रप्रेमलाई कर्ममा उतार्नुहोस् र जिम्मेवार नागरिकको रूपमा आफूलाई प्रस्तुत गर्नुहोस्। विविध भाषा, संस्कृति र जातीयतालाई सम्मान गर्दै ‘म नेपाली हुँ’ भन्ने भावना आत्मसात गर्नुहोस्।”
उक्त तालिमले हरेक वर्ष विद्यार्थीलाई राष्ट्र सेवा, विपद् व्यवस्थापन, सामाजिक नेतृत्व, टोलीमा काम गर्ने क्षमता र नागरिक सरोकारप्रति जिम्मेवारी विकास गर्ने लक्ष्य राखेको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा कुल ७७१० छात्र/छात्रा एनसीसी तालिममा सहभागी भएका थिए।
मध्य तालिम शिक्षालयका प्रमुख सेनानी दिनेश चौलागाईंका अनुसार, चार शिक्षालयमा ७७ जिल्लाका विद्यार्थी सहभागी हुने तालिममा कावासोती, हात्तिखोरमा ५३० छात्र/छात्रा दीक्षित भएका छन्।
प्रधानमन्त्री कार्कीले तालिमले सिकाएको अनुशासन, समयपालन, नेतृत्व क्षमता र राष्ट्रप्रतिको भावनालाई जीवनभर साथ दिने शिक्षा भएको उल्लेख गरेकी छन्।








Discussion about this post