
२६ नोवेम्बर । बंगलादेशको राजधानी ढाकास्थित सबैभन्दा ठूलो र भीडभाडपूर्ण कोराइल बस्तीमा मंगलबार साँझ भीषण आगलागी भएपछि हजारौँ मानिस विस्थापित भएका छन्। सूर्यास्तपछि सुरु भएको आगोले टिनका छाना भएका सयौँ झुपडी जलेर पूर्णरूपमा नष्ट भएका छन्।
करिब ८० हजार जनसंख्या रहेको कोराइल बस्ती सम्पन्न गुलशन–बनानी क्षेत्रको बीचमा पर्ने अत्यन्तै संवेदनशील क्षेत्र हो। आगो फैलिँदै जाँदा रातो–सुन्तला धुवाँले आकाश ढाकिएको र स्थानीयहरू सकेका सामान बोकेर ज्यान जोगाउन भागिरहेका दृश्य देखिएको बताइन्छ।
अग्निशमन सेवाका अधिकारी तल्हा बिन जासिमका अनुसार कम्तिमा १९ दमकल परिचालन गरिएको थियो। तर साँघुरा गल्ली र भीडभाडका कारण आगोज्ञापन तथा उद्धार कार्य निकै कठिन बनेको उनले बताए।
“भारी ट्राफिकले ढिलो गरायो, साँघुरा लेनका कारण इन्जिन टाढा राखेर लामो पाइप बिछ्याउनुपर्यो,” उनका शब्द हुन्।
पाँच घण्टाभन्दा बढीको प्रयासपछि मात्रै आगो नियन्त्रणमा आएको हो। आगलागीको कारण भने अहिलेसम्म पत्ता लागेको छैन।
मानव क्षतिको आधिकारिक रिपोर्ट नआए पनि स्थानीयले विनाश “लगभग पूर्ण” भएको बताएका छन्। जलेको घरको अवशेष हेर्दै अमेना बेगमले रोइराउँदै भनिन्—
“मेरो सबै कुरा सकियो, अब म कसरी बाँच्ने?”
बंगलादेशमा पछिल्ला वर्षहरूमा यस्ता ठूला आगलागी दोहोरिईरहेका छन्। कमजोर नियम कार्यान्वयन, अव्यवस्थित बसोबास र द्रुत शहरीकरणलाई यस्तो त्रासदीका प्रमुख कारणका रूपमा लिइन्छ।








Discussion about this post