लोकआस्था र धार्मिक विश्वासको महान पर्व चैती छठअन्तर्गत आज दोस्रो दिन ‘खरना’ विधि मनाइँदैछ। आइतबार ‘नहाय–खाय’ विधिबाट सुरु भएको पर्वअन्तर्गत व्रतालुहरू आज दिनभर निराहार उपवास बसेर साँझ खरना गर्ने धार्मिक परम्परा रहेको छ।
चार दिनसम्म मनाइने चैती छठ पर्वको तेस्रो दिन मंगलबार पर्ने षष्ठी तिथिलाई मुख्य दिनका रूपमा लिइन्छ, जसलाई ‘सँझीया घाटे’ पनि भनिन्छ। सो दिन व्रतालु महिलाहरू नदी, पोखरी, तलाउ लगायतका जलाशयमा निर्माण गरिएको छठघाटमा पुगेर अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ अर्पण गर्ने चलन रहेको छ।
छठ पूजामा गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाइने गरिन्छ भने मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, उखु लगायतका फलफूल अर्घका रूपमा चढाइन्छ।
पर्वको अन्तिम दिन सप्तमी तिथिका दिन बुधबार बिहान व्रतालुहरूले पुनः छठघाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि चैती छठ पर्व विधिवत रूपमा समापन हुने धार्मिक विश्वास रहेको छ।








Discussion about this post