मुस्लिम समुदायले एक महिने रोजा सम्पन्न गरेपछि आज इद उल फित्र पर्व उत्साहपूर्वक मनाएका छन्। बिहानै मस्जिद र ईदगाहमा विशेष नमाज अदा गरी पर्व मनाउने क्रम शुरू भएको हो।
नमाजपछि आफन्तजनबीच भेटघाट, आशीर्वाद आदानप्रदान तथा शुभकामना साटासाट गर्ने चलन रहेको छ। घरमा सेवई, खजुर लगायतका परिकार बनाएर पाहुनालाई सत्कार गरिन्छ।
इद उल फित्रलाई दानको पर्वका रूपमा पनि लिइन्छ। जकात र फित्रका रूपमा गरिने दानमार्फत गरिब तथा असहायलाई सहयोग गर्ने परम्पराले सामाजिक सहकार्य र मानवताको सन्देश दिने विश्वास गरिएको छ।
नयाँ वस्त्र धारण गरी रमाइलो वातावरणमा मनाइने यस पर्वले समुदायबीच एकता, सद्भाव र भाइचाराको भावना सुदृढ बनाउने अपेक्षा गरिएको छ।








Discussion about this post