मधेश प्रदेशका पूर्वमुख्यमन्त्री मो. लालबाबु राउत गद्दी बस्ने वीरगञ्ज महानगरपालिका–१३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालले अत्यन्त न्यून मत प्राप्त गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत उक्त वडामा जसपा नेपालको चुनाव चिह्न ‘छाता’ले ३९ मत मात्र पाएको छ।
पर्सा जिल्लाका सबै निर्वाचन क्षेत्र जित्ने दाबी गर्दै आएको जसपा नेपालका लागि आफ्नै नेताको वडामा आएको यो नतिजा चासोको विषय बनेको छ। गद्दीसँगै पर्सा क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका जसपा नेपाल पर्साका जिल्ला अध्यक्ष रामनरेश यादवको पनि जमानत जफत भएपछि पार्टीभित्रै नेतृत्वको जनाधारबारे चर्चा सुरु भएको बताइएको छ।
यादव बस्ने वीरगञ्ज महानगरपालिका–२८ मा पनि पार्टीको अवस्था कमजोर देखिएको छ। त्यहाँ ‘छाता’ चुनाव चिह्नले २५ मत मात्र प्राप्त गरेको जनाइएको छ।
पार्टीका केही नेताहरूका अनुसार पूर्वमुख्यमन्त्री गद्दीमाथि लागेको भ्रष्टाचारसम्बन्धी आरोप र जिल्ला अध्यक्ष यादवको नेतृत्वका कारण पर्सामा पार्टी संगठन कमजोर बन्दै गएको हो। एक समय पर्सामा बलियो मानिएको जसपा नेपालको प्रभाव अहिले घट्दै गएको उनीहरूको भनाइ छ।
देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव बढिरहेको अवस्थामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको आधार खस्कँदै गएको विश्लेषण पनि राजनीतिक वृत्तमा हुन थालेको छ। निर्वाचन परिणामले पर्सामा पार्टी नेतृत्वको वास्तविक जनाधार कस्तो छ भन्ने विषयलाई थप उजागर गरेको चर्चा भइरहेको छ।








Discussion about this post