वीरगंज – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले प्रतियोगितामा पहिलो सफलता हात पारेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गर्दै जितको खाता खोलेको हो।
जिम्बावेले प्रस्तुत गरेको १ सय ३० रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमै चार विकेट गुमाउँदै पूरा गर्यो। लक्ष्य पछ्याउने क्रममा पूजा महतोले संयमित र आक्रामक ब्याटिङ गर्दै ५२ रनको महत्वपूर्ण इनिङ खेलिन्। जिम्बावेको बलिङमा जोसेफिन एनकोमोले दुई विकेट लिन सफल भइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो। जिम्बावेको इनिङ सम्हाल्ने क्रममा केलिस एनध्लोभुले अविजित ५२ रन जोडिन्। नेपालतर्फबाट रिया शर्माले दुई विकेट लिएर बलिङमा प्रभाव छाडिन्।
यस जितसँगै नेपालले ‘सुपर–सिक्स’ चरणमा पुग्ने सम्भावनालाई जीवित राखेको छ। नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो।
अब समूह चरणको अन्तिम खेलमा नेपालले पर्सि सोमबार स्कटल्यान्डको सामना गर्नेछ।
१० टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ। दुवै समूहका शीर्ष तीन टोली ‘सुपर–सिक्स’ मा प्रवेश गर्नेछन् भने त्यहाँबाट उत्कृष्ट चार टोली आगामी वर्ष इङ्ग्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन्।








Discussion about this post