भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपाली नागरिकको ज्यान गएको छ।
हिमाचल प्रदेशको सोलन जिल्ला अन्तर्गत अर्की क्षेत्रमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का दुई परिवारका ९ जनाको मृत्यु भएको गाउँपालिकाका सूचना अधिकारी भिमलाल भण्डारीले जानकारी दिएका छन्।
मृतकहरू स्थानीय धनबहादुर विक र काशीराम विकका परिवारका सदस्य रहेको पुष्टि गरिएको छ।
भण्डारीका अनुसार ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरीहरू १६ वर्षीया राधा विक र १० वर्षीया रेणुका विक तथा छोरा राजन विकको मृत्यु भएको छ।
त्यसैगरी ४७ वर्षीय काशीराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी १२ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको पनि ज्यान गएको वडा अध्यक्ष मेघराज बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
घटनामा वडा नम्बर २ का दुई परिवारका ९ जना सदस्यको मृत्यु भएपछि आज वडा नम्बर २ मा शोक बिदा दिइएको छ।
साथै, मृतक परिवारका शव नेपाल ल्याउन आवश्यक सम्पूर्ण खर्च पालिकाले व्यहोर्ने र काजक्रिया खर्चको समेत व्यवस्था गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार हिजो राति ग्यास सिलिण्डर विस्फोट भई आगलागी भएको हो। आगलागीबाट १५ भन्दा बढी पसलमा समेत क्षति पुगेको जनाइएको छ।








Discussion about this post