नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल पत्रकार महासंघ बारा शाखाकी उपाध्यक्ष तथा सञ्चारकर्मी प्रीयन्का दासलाई समानुपातिक सांसदको उम्मेदवारका रूपमा अघि सारेको छ।
१५ वर्षभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय दासले लोकतन्त्र, प्रेस स्वतन्त्रता, महिला अधिकार र सामाजिक न्यायका विषयमा निरन्तर कलम चलाउँदै आएकी छन्। सञ्चार क्षेत्रमार्फत जनचेतना फैलाउन र सुशासनका सवाल उठाउन खेलेको भूमिकालाई मूल्यांकन गर्दै कांग्रेसले उनलाई संघीय समानुपातिक सूचीमा समावेश गरेको जनाएको छ।
दास ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल मधेस प्रदेशकी पूर्व कोषाध्यक्ष तथा हाल केन्द्रीय सदस्य हुन्। उनी १३ वर्षअघि स्थापना गरिएको रेडियो विश्वास एफएमकी अध्यक्षसमेत हुन्, जसले बारामा नियमित रूपमा प्रसारण गर्दै आएको छ।
कांग्रेसको यो निर्णयलाई महिला, युवा र मधेसी समुदायको सहभागिता बढाउने कदमका रूपमा लिइएको छ। महिला सञ्जाल बारा अध्यक्ष बबिता जयस्वालले दासको उम्मेदवारीले महिलाको आवाज राष्ट्रिय राजनीतिमा बलियो बन्ने विश्वास व्यक्त गरिन्।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशका कोषाध्यक्ष अनिल गौरवले पार्टीले पत्रकारिताबाट समाजसँग प्रत्यक्ष जोडिएकी व्यक्तिलाई अवसर दिएकोमा सराहना गरेका छन्। महासंघका केन्द्रीय सचिव अशोक तिवारीले संसदमा दासले प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रका पक्षमा सशक्त भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।
यसैबीच, नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुबेदीले प्रीयन्का दासको उम्मेदवारी पत्रकार समुदायका लागि गर्वको विषय भएको बताउँदै उनको राजनीतिक यात्राको सफलताको कामना गरेका छन्।








Discussion about this post