बङ्गलादेशका प्रमुख विपक्षी नेता तथा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमान झन्डै १७ वर्षको निर्वासनपछि स्वदेश फर्किनुभएको छ। सन् २००८ मा राजनीतिक उत्पीडनको आरोप लगाउँदै देश छाडेका रहमान बेलायतमा बस्दै आउनुभएको थियो।
६० वर्षीय रहमान हिजो ढाका पुगेको अलजजीराले जनाएको छ। आउँदो फेब्रुअरीमा तय भएको आम चुनावमा प्रधानमन्त्रीको प्रमुख दाबेदारका रूपमा उहाँको चर्चा भइरहेको छ। बीएनपीका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री खालिदा जियाका पुत्र रहनुभएका रहमानले पार्टीको औपचारिक नेतृत्व सम्हाल्ने अपेक्षा गरिएको छ।
लामो समय सत्तामा रहेकी शेख हसिना २०२४ मा पदच्युत भएपछि बङ्गलादेशको राजनीतिक समीकरण फेरिएको छ। रहमानमाथि लगाइएका मनी लाउन्डरिङ र षड्यन्त्रसम्बन्धी मुद्दाहरू गत वर्ष उल्टिएपछि उहाँको स्वदेश फिर्ताको बाटो खुलेको हो।
आमा खालिदा जिया गम्भीर बिरामी रहेकाले पनि रहमान स्वदेश फर्किएको बताइएको छ। पछिल्लो सर्वेक्षणले बीएनपीलाई आगामी चुनावमा सबैभन्दा ठूलो दल बन्ने सम्भावना देखाएको छ भने अवामी लिगले अशान्ति फैलाउने चेतावनी दिएको छ। यद्यपि अधिकारीहरूले स्वतन्त्र र शान्तिपूर्ण चुनाव गराउने प्रतिबद्धता जनाएका छन्।








Discussion about this post