आज देशभर माघे सङ्क्रान्ति पर्व धार्मिक आस्था र सांस्कृतिक उल्लासका साथ मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्तिका रूपमा चिनिन्छ ।
यसै दिनदेखि उत्तरायण सुरू हुने विश्वास अनुसार दिन क्रमशः लम्बिँदै जान्छन् भने रात छोटिँदै जान्छन् ।
उत्तरायणको प्रारम्भलाई शुभ मानिने भएकाले आज स्नान, ध्यान, जप, तप र दानको विशेष महत्त्व छ । यही कारण देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी र रिडीजस्ता तीर्थस्थलमा माघ स्नानका लागि भक्तजनको उल्लेख्य भीड लागेको छ । ती स्थानमा परम्परागत मेलासमेत आयोजना हुने गर्छ । तराई क्षेत्रमा माघ १ लाई ‘नहान’ पर्वका रूपमा मनाउँदै सामूहिक स्नान गर्ने चलन छ ।
माघे सङ्क्रान्तिमा घ्यू, चाकु, तिल, तरुल, पालुङ्गो र खिचडीजस्ता परिकार खाने परम्परा रहिआएको छ । जाडो याममा शरीरलाई उष्णता दिने भएकाले यी परिकारको विशेष महत्त्व मानिन्छ । पुसको अन्तिम दिन पकाएको तरुल माघमा खाने चलनलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानले जनाउँछ ।
यस दिन तिलको तेलले शरीरमा मालिस गर्दा स्वास्थ्यका लागि लाभदायक हुने विश्वास छ । साथै माघे सङ्क्रान्तिकै अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउँदै कन्दमूल बालीको संरक्षण र उपयोगप्रति जनचेतना फैलाउँदै आएको छ ।








Discussion about this post